
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०६:३७:०७ , ४ महिना अगाडि