तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ । म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी रु ७० लाख आम्दानी गरे । देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्मको सुन्तला बिक्री भएको छ ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०८:१४:१८ , ४ महिना अगाडि