हिउँविहीन बने हिमाल

काठमाडौँ । सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । नेपालमा भने वर्षको सुरुवातदेखि हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । धेरै हिमालमा अहिले हिउँविहीन जस्तै देखिन्छ । कुनै कुनै हिउँदमा वर्षा नहुनु मौसमको स्वाभाविक चक्र मानिन्छ तर हिउँदे वर्षा नहुने निरन्तरको प्रवृत्तिले नेपालका हिमाल बिस्तारै काला पहाडमा परिणत हुने विज्ञहरूको दाबी छ ।

विश्वमा मौसम परिवर्तनले ल्याएको जलवायु परिवर्तनको प्रभाव नेपालका हिमाल कालो भएर देखिने क्रम बढेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले बताए । लगातारका वर्षहरूमा हिउँदे खडेरी हुनु राम्रो नभएको र हिमाल कालो हुँदै जानु विस्तारै काला पत्थरका पहाड बन्दै जाने उनले बताए ।

अन्नपूर्ण हिमशृङ्खलामा पर्ने माछापुच्छ्रे हिमालको कालो स्वरूप केही दिनयता लगातार तस्बिरहरूमा आइरहेको छ । यो क्रम यसै वर्षको हिउँदमा मात्र देखिएको भने हैन । हिउँदमा हिउँ टम्म भरिएर सूर्यको किरण त्यसमा पर्दा सुनौलो हुने माछापुच्छ्रेको सौन्दर्यमा यस वर्ष पनि कालो पोतिए जस्तो देखिएको श्रेष्ठ बताउछन । केही साताअघि यस्तै गरी कालो भएको माछापुच्छ्रेमा हल्का वर्षा र हिमपातले हिउँको चमक फर्किएको थियो । फेरि अहिले त्यस्तै कालो देखिएको छ ।

यसरी हिमाल सर्लक्कै सकिएर कालो बन्नु भनेको अब माछापुच्छ्रेमा हिउँ अडिने गरी चिसो कम हुँदै गएको भन्ने देखाउने श्रेष्ठ औँल्याए । उनका अनुसार लामो समयको ठुलो हिमपात र वर्षाले त्यो चिसो शक्ति फर्काउन सक्छ तर सानातिना हिमपात र वर्षाले हिउँ अडिन अब कठिन हुने दाबी उनले गरे । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : ०६:१३:४१ , ४ महिना अगाडि