संकेत नम्बर नलिई निकासी गरे ३ वर्षसम्म कैद

काठमाडौं । कुनै व्यक्तिले संकेत नम्बर नलिई कुनै वस्तुको निकासी वा पैठारी गरेमा एक वर्षदेखि ३ वर्षसम्म कैद हुने भएको छ । ५ करोड रुपैयाँभन्दा बढी बिगो भएमा बिगोको दोब्बर जरिमाना र १ वर्षदेखि ३ वर्षसम्म कैद गर्न लागिएको हो ।
संघीय संसद् सचिवालयमा दर्ता भएको निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो । विधेयकले नेपाल ‘ट्रान्जिट’ बनाई तेस्रो मुलुकमा समेत व्यापार गर्न बाटो खुला गरेको छ । विधेयकमा यसलाई ‘इन्ट्रापोर्ट’ व्यापार भनिएको छ ।

कुनै देशबाट पैठारी गरिएका वस्तु नेपालको कुनै भन्सार क्षेत्र वा सुक्खा बन्दरगाहमा राखी अर्को देशमा तोकिएको अवधिभित्र निकासी गर्न सकिने विधेयकमा उल्लेख छ । यसैगरी, विधेयकमा ५० लाख रुपैयाँभन्दा बढी २ करोड रुपैयाँसम्म बिगो भए बिगोको डेढी जरिमाना गर्ने प्रावधान राखिएको छ । २ करोड रुपैयाँभन्दा बढी ५ करोड रुपैयाँसम्म बिगो भए बिगोको दोब्बर जरिमाना गर्ने प्रावधान विधेयकमा उल्लेख गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : ०६:३९:०१ , ४ महिना अगाडि