भारतीय लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गर्‍यो छ राउण्ड फायर

झापा । झापाको कन्काई नगरपालिका–४ मनोकामना टोलबाट प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

मङ्गलवार साँझ समयमा कनकाई नगरपालिका–४ मनोकामना टोलमा दुई जनाले लागुऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वमा प्रहरी टोलीले कारोबारीलाई पिछा गरेको थियो ।

त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख दाहाल नेतृत्वको प्रहरीले ६ राउन्ड फायर गरेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडानम्बर ५ बिहार घर भएका वर्ष २८ का अन्जर आलमलाई गोली लागेको छ ।

उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाइ वर्ष १७ का युसुव आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाईकल र उनीहरुको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगरसमेत प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख राधाकृष्ण दाहालले बताए।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : ०६:३२:१२ , ४ महिना अगाडि