
काठमाडौँ । पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो ।
नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो । गत जनवरीदेखि नै पाइप लाइनबाट पेट्रोल ल्याउने भनिए पनि परीक्षणकै क्रममा रहेकाले ल्याउन ढिलाइ भएको निगमको मधेश प्रादेशिक कार्यालयले जनाएको छ ।
पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ । जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । बजारको आवश्यकता अनुसार पाइप लाइनबाट पेट्रोल आयात गरिने कार्यालयका प्रमुख कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो ।

प्रकाशित मिति: २०२५-०२-१० , समय : ०८:१८:२० , ३ महिना अगाडि