
काठमाडौँ । नेपालको घाँसे मैदानमा पाइने सुन्दर चरा खरमजुर नेपालमा लोप हुने अवस्थामा पुगेको छ । सिरुको पातमा गुँड बनाएर बस्ने लजालु प्रकृतिको यो चरा घाँसे मैदानको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण मानिन्छ । नेपालमा यो करिब एक सयको सङ्ख्यामा रहेको अनुमान छ ।
नेपालको बाहिरी वातावरणमा खासै नदेखिने खरमजुर चार वटा संरक्षित क्षेत्रमा अस्तित्वमा रहेकोमा केहीमा भोलिका दिनमा देख्न नपाइने गरी लोपको सँघारमा पुगेको पन्छीविद् सङ्घका अध्यक्ष लक्ष्मणप्रसाद पौड्यालले बताए। नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको घाँसे मैदानमा खरमजुर भेटिन्छन् ।

खरमजुरका बारेमा उनीलगायत संरक्षणकर्मीले प्रकाशित गरेका अध्ययन अनुसार बर्दियामा खरमजुर देखिन छाडेको १० वर्ष बित्यो । उनले भने, “अन्यत्र पनि हरेक वर्ष खरमजुर देखिने क्रम कम हुँदै गएको छ ।” बर्दियामा सन् २०११ देखि २०२४ सम्म खरमजुर नदेखिएको अध्ययनले देखाएको छ । अन्यत्र पनि कम हुँदै गएको देखिएको छ । नेपालमा सन् १९८२ देखि खरमजुरको अध्ययन र संरक्षणकारी काम हुन थालेको पाइन्छ । जस अनुसार त्योबेला सबैभन्दा बढी १५ वटा शुक्लाफाँटामा खरमजुर पाइएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२५-०२-११ , समय : ०७:४७:५२ , ३ महिना अगाडि