
विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाटै ३४ जना महिलाको हत्या भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको विवरणअनुसार परिवारभित्रकै व्यक्तिबाट ३४ महिलाको हत्या भएको पाइएको हो ।
इन्सेक कोशी प्रदेश कार्यालयले बुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक गर्दै एक वर्षको अवधिमा भएका घटना विवरणहरु सार्वजनिक गरेको थियो ।
देशभरमा परिवारजनबाट एक सय जना महिलाको हत्या भएकोमा कोशी प्रदेशका मात्र ३४ जना रहेको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए । ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङखुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेह्रथुममा तीन र उदयपुरमा सात गरी ३४ जना महिलाको परिवारजनबाटै हत्या भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को मानव अधिकार सूचकांङ्कमा कोशी प्रदेशमा चौथो स्थानमा परेको प्रलेख अधिकृत अधिकारीले बताए ।सातओटै प्रदेशहरूमा शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा यस वर्ष कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा भएको अधिकृत अधिकारीले बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का आधारमा कोशी प्रदेश भन्दा बागमती, मधेश, लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।
प्रकाशित मिति: २०२५-०२-२० , समय : १०:४८:०८ , ३ महिना अगाडि