हात्ती बस्तीमा, गाउँले त्रासमा

सर्लाही । सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुुर्याउने क्रम रोकिएको छैन । चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती जिल्लाको पश्चिमी भेगतर्फ लागेका छन् । हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाका विभिन्न बस्तीमा पसेर घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुु(याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हात्तीले आइतबार बिहानपख बागमती नगरपालिका–३, धरहरामा बाबुलाल स्याङ्तानको घरमा बाँसको टाटीले लगाएको बेरा भत्काएर भित्र राखेको दुुई क्विन्टल धान खाइदिएको छ । हात्तीले स्याङ्तानको एक कट्ठाको मकै, दुुई वटा केराको बोट, रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको एकरएक कट्ठामा लगाएको मकै खेती नष्ट गरेको पीडितले बताएका छन् ।

सोही हात्तीको समूहले शनिबार राति हरिवन नगरपालिका–६, चार्लीटोलका डिल्लीप्रसाद उप्रेतीको तीन कट्ठाको मकै र १५ वटा केराको बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन कट्ठाको मकै बाली र २० वटा केराको बोट र मीनप्रसाद उप्रेतीको पाँच कट्ठाको मकै बाली र १० वटा केराको बोट नष्ट गरेको छ । यसअघि रातको समयमा मात्रै जङ्गली हात्ती देखा पर्ने गरेकोमा आइतबार भने दिउँसै बस्तीमा पसेको स्थानीले बताएका छन् ।

हरिवन र बागमती नगरपालिकाको जङ्गलनजिकै रहेका बस्तीमा आइतबार दिउँसै तीन वटा माउ जङ्गली हात्ती डुलिरहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

जिल्लामा एक सातादेखि यसरी निरन्तर जङ्गली हात्तीले आतङ्क मच्चाइरहँदा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्ती पर्सा राष्ट्रिय निकुञ्जतर्फ फर्किएर जाने भएकाले जथाभाबी नजिस्काउन र जङ्गलनजिकका बस्तीमा बसोबास गर्ने स्थानीयलाई चनाखो रहन अनुरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०२५-०२-२४ , समय : ०७:२०:४८ , ३ महिना अगाडि