
उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक गतिविधि ठप्प भएको छ ।
बेलका नगरपालिका झन्डै २ महिना यता प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत भएर पनि काम कारबाही विहीन हुँदा पालिकाको आर्थिक कारोबार ठप्प भएको हो । पालिका अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रविविक्रम आचार्यले सञ्चालन गर्दै आएका छन । यद्यपि निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई आर्थिक कारोबारको अख्तियारी नहुँदा पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार दुई महिना यता पालिकाबाट हुने ठुला आयोजनाको ठेक्का सम्झौता समेत हुन सकेको छैन । आचार्यले भने आफूले पालिकाको दैनिक गतिविधि मात्र सञ्चालन गरेको बताए । उनले आफूलाई आर्थिक कारोबार र ठुला ठेक्कामा सम्झौता गर्ने अख्तियारी नभएको बताए ।
बेलका नगरपालिकामा रोजगार सहायक (सेवा करार) पदको नियुक्तिलाई लिएर विवाद भएको थियो भने उक्त विवादका कारण स्थानीय राजनीतिक दलले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा ताला लगाएका थिए ।
बेलका नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत र प्रशासनका कर्मचारी माथि प्रश्न चिन्ह खडा भएको थियो । उक्त कुराले विवाद बढेपछि नेकपा (एमाले) लगायतका दलले नगरपालिकाका कर्मचारीको लापरबाहीका कारण नक्कली व्यक्तिलाई हाजिर गराएको भन्दै त्यस विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग राखेका थिए ।
प्रकाशित मिति: २०२५-०२-२४ , समय : १८:१६:३७ , ३ महिना अगाडि