
पोखरा । पोखरामा ब्यारेकभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु रहस्यमय बन्दै गएको छ ।
घटना छानबिनका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिसकिएको छ । यसैबीच, महतको परिवारले जिल्ला प्रशासन कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले महतको परिवारले आइतबार आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको पुष्टि गरे । उनले भने, ‘जाहेरी परेको छ र जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ, हामीहरू अनुसन्धान गर्छौं ।’
सिन्धुपाल्चोककी २८ वर्षीया महत १७ बेसिक (२०८१)की इन्स्पेक्टर हुन् । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत दुई दिनअघि पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकको महिला शौचालयनजिक झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
महतकी प्रेमी भनिएका १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध उनको परिवारजनले जाहेरी दिएको हो । उनीहरूबीच प्रेम सम्बन्ध रहेको र प्रेमीकै कारण महतले ‘आत्महत्या’ गरेको परिवारजनको दाबी छ ।
सशस्त्र प्रहरी हेडक्वाटरले सो घटनाको छानबिन गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
२०७२ सालमा सिपाही पदमा नाम निकालेर सेवा प्रवेश गरेकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । गत वर्ष सशस्त्र प्रहरी निरीक्षक पदमा नाम निकालेर उनले तालिम सुरु गरेकी थिइन् ।
यसैबीच, स्वर्गीय महतको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२५-०२-२५ , समय : ०६:४२:२० , ३ महिना अगाडि