
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल टी-२० लिग क्रिकेटका विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।
राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा बनेको ५ सदस्यीय छानबिन कार्यदल बनेको हो । कार्यदलका सदस्यहरुमा राखेप सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् ।

कार्यदललाई विदेशी खेलाडीहरुको श्रम स्वीकृति एवं प्रतियोगिता सञ्चालनको सम्बन्धमा परिषद्ले नेपाल क्रिकेट संघ क्यानसँग आवश्यक प्रमाण कागजात मागेर गरेको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता सञ्चालनका क्रममा संघबाट भएका कमजोरी तथा विसंगतिको बारेमा सार्वजनिक भएको विषयमा सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा सट्टेबाजी भएको र फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरिएको समाचार सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: २०२३-०१-०४ , समय : २१:०६:०५ , २ वर्ष अगाडि