खोटाङको जङ्गलमा महिला र पुरुष मृत फेला

खोटाङ । खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए।

डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ ।

सोही गाउँका अन्दाजी १९÷२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन् ।

मृत भेटिएकी महिला विवाहित हुन् । उनको दुई वर्षको छोरीसमेत रहेको बताइएको छ । पुरुष भने अविवाहित हुन् । घटना के कसरी घटेको भनेर खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-२६ , समय : १२:३०:५२ , ३ महिना अगाडि