रमजानमा कतारका श्रमिकलाई दैनिक ६ घण्टा मात्र काममा लगाइने

काठमाडौं । कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा कामदारहरूलाई दैनिक ६ घण्टाभन्दा बढी काममा नलगाउने भएको छ । पवित्र महिना रमजानको अवसर पारेर कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका संस्थामा पवित्र महिनामा काम गर्ने समय तोकेको हो ।

श्रम ऐनअनुसार साताको ३६ घण्टा र दिनमा बढीमा ६ घण्टा काम गर्ने समय तोकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको तलब र सेवासुविधा दिनुपर्नेछ ।

मन्त्रालयले ६ घण्टाभन्दा बढी काममा लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै कानुन उल्लंघन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । कतारमा करिब ४ लाख नेपाली कामदार रहेको पाइन्छ । शनिबारदेखि रमजान सुरु भइसकेको छ ।

के छ कानुनमा ?
कतारमा रमजानको समयमा ब्रत बस्ने तथा नबस्ने दुवै श्रमिकलाई सातामा ३६ घण्टाभन्दा बढी काममा लगाउन नपाउने श्रम कानुनको धारा ७३ मा उल्लेख गरिएको छ । नियम सुपरभाइजर, क्लिनर, सुरक्षा गार्ड, अस्पतालका कर्मचारी तथा अत्यावश्यक कार्यक्षेत्रका कर्मचारीबाहेक सबैमा यो नियम लागू हुनेछ ।

अन्यलाई दिनको ६ घण्टाभन्दा बढी काममा लगाउनुपरेको खण्डमा साबिकको तलबअनुसार २५ प्रतिशत प्रतिघण्टाले श्रमिकहरूलाई बढी भुक्तानी गर्नुपर्ने र १० घण्टाभन्दा बढी काम लगाउन नपाउने मन्त्रालयले बताएको छ । यसैगरी, मन्त्रालयले नियम उल्लंघन गर्ने कम्पनीहरूलाई उजुरी गर्न मन्त्रालयको फोन नं ४०२८८८८८ र सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उजुरी गर्न आग्रह गरेको छ ।

सार्वजनिक रूपमा खाना खानेलाई ओमान र कतारमा तीन महिना जेल
ओमान र कतारमा रमजानको उपवासको समयमा सार्वजनिक स्थानमा खाना खाँदै गरेको पाइएमा उल्लंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने जनाइएको छ । ओमानी दण्ड संहिताको धारा २७७ अनुसार मुस्लिम र गैरमुस्लिम दुवैलाई उपवासको समयमा सार्वजनिक स्थानमा खान र पिउन अनुमति छैन ।

यो नियम देशमा बसोबास गर्ने वा भ्रमण गर्ने र १५ वर्षभन्दा माथिका सबैलाई लागू हुने जनाइएको छ । कानुनअनुसार रमजानको उपवासको समयमा सार्वजनिक स्थानमा खाना वा पेय पदार्थ खाएमा कम्तीमा १० दिन र तीन महिनाभन्दा बढीका लागि जेल सजाय हुनेछ ।

यसैगरी, कतारमा पनि व्रतको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले व्रतालुलाई गाह्रो पर्ने हुँदा यी कार्य प्रतिबन्धित गरिएको छ । खुला स्थानमा खाने, पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा तीन महिना जेल सजाय वा ३ हजार कतारी रियाल जरिमाना हुने कतारी सरकारले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२५-०३-०३ , समय : ०७:१९:०६ , ३ महिना अगाडि