वन्यजन्तुले बाली खाने पिरले माछा पालन

त्रिवेणी .(नवलपरासी) । वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् ।

कावासोती नगरपालिका(७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको बताए । धान लगायतका अन्य बाली राम्रो हुने भए पनि भित्र्याउने समयसम्म मध्यवर्ती वनबाट आउने वन्यजन्तुले सबै क्षति पुर्‍याउन थालेपछि टोलका सबैले सल्लाह गरी पोखरी खनेर माछापालन सुरु गरेको उनले बताए ।
‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौं’, चौधरीले भने । पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले समेत सहयोग गरेको हो । माछापालनबाट राम्रै आम्दानी गर्न सकिने गरेको चौधरीले बताए ।

यहाँका रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन् । वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका–७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए । वन्यजन्तुले लगाएको बाली खाएर सताएपछि पोखरी खनेर माछा पालन गर्न थालेका स्थानीयको आम्दानीको माध्यम पनि माछापालन भएको छ । रासस

प्रकाशित मिति: २०२५-०४-१२ , समय : १३:३९:०४ , १ महिना अगाडि