
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका लागि सरकार सबैभन्दा ठूलो कुरा नभएको बताएका छन् । पर्यो भने सरकारबाट बाहिरिन सक्ने उनको भनाइ छ ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले वर्तमान सरकारमा रहिरहनु कांग्रेसको बाध्यता भएको समेत जिकिर गरे ।

‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं,’ उनले भने, ‘हामीले भन्न सक्नुपर्छ, पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’
समस्याको मात्रै कुरा गरेर नहुने भन्दै थापाले समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए । बेचैन भएको नेपाली समाजलाई आश्वस्त पार्ने जिम्मेवारी राष्ट्रिय शक्तिको रहेको उनले बताए ।
‘हामीले सम्हाल्नुपर्छ । हामी उत्तेजनामा आएर पनि हुँदैन । भड्काउबाजी कुरा गरेर पनि हुँदैन,’ थापाले भने, ‘हामीले नैराश्यताको कथा भनेर पनि हुँदैन । भागेर पनि हुँदैन । हामीले सामना गर्नुपर्छ । हामीले संवाद गर्नुपर्छ । हामीले आश्वस्त पार्नुपर्छ । भरोसा दिनुपर्छ ।’
प्रकाशित मिति: २०२५-०४-२४ , समय : १७:४८:२२ , ४ हप्ता अगाडि