दुबईमा विश्व सञ्चारमा एआई प्रविधिको प्रदर्शनी, ३२ हजार सहभागी

काठमाडौं । यूएईको दुबईमा विश्व सञ्चार, प्रविधि र अन्तरिक्ष नवप्रवर्तनको अन्तर्राष्ट्रिय प्रदर्शनी (सीएबीएसएटी) सम्पन्न भएको छ ।

मिडिया, प्रोफेसनल भिजुअल तथा अन्तरिक्ष प्रविधिमा केन्द्रित उक्त प्रदर्शनीमा विश्वभरबाट ३२ हजार भन्दा बढीको सहभागिता थियो । नेपाली टेलिभिजनकर्मी तथा निर्देशक फुर्वा शेर्पा पनि उक्त सम्मेलनमा सहभागी भए ।

१३ मेदेखि १५ मेसम्म सीएबीएसएटी, इन्टाग्रेट मिडिल इस्ट र स्याट एक्स्पो मिडिल इस्ट-२०२५ गरी तीनै प्रदर्शनी दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजना गरिएको थियो ।

प्रदर्शनीमा सहभागी फुर्वाले उक्त कार्यक्रमको प्रत्यक्ष अनुभव गर्न पाएकोमा आफूले गर्व महसुस गरेको चौबाटोलाई बताए । ‘यस्ता मञ्चले विश्वभरिका मिडिया नवप्रवर्तनहरू मात्र होइन, नेपालजस्ता मुलुकका सर्जकहरूका लागि पनि नयाँ सम्भावनाको ढोका खोलिदिन्छ,’ उनले भने ।

उक्त प्रदर्शनीमा १२० भन्दा बढी मुलुकबाट आएका ८२० भन्दा बढी ब्रान्ड तथा १९० जना वक्ता सहभागी थिए । चीन, फ्रान्स, जर्मनी, बेलायत लगायत देशका विशेष राष्ट्रिय पविलियनले कार्यक्रमको आकर्षण थपेका थिए ।

तीनवटा शीर्षकमा भएको प्रदर्शनीमा सीएबीएसएटीको यो ३१ औं संस्करण हो । जसअनुसार यसपटक एआईमा आधारित पूर्णरुपमा स्वचालित ब्रोडकास्ट प्रणाली प्रदर्शन गरियो ।

यस्तै इन्टाग्रेट मिडिल इस्टको तेस्रो संस्करणमा एआई वायरलेस माइक्रोफोनदेखि स्मार्ट भेन्यु प्रविधि, अनुकूल डिजिटल साइनज र इमर्सिभ अडियो-भिडियो टुलसम्मका आविष्कारलाई प्रस्तुत गरियो । खासगरी विश्वकै पहिलो एआई माइक सिस्टम उल्लेखनीय रह्यो । सहरी प्रविधिमा चासो राख्नेका लागि पनि यो खण्ड निकै उपयोगी रह्यो, जहाँ प्रो एभी प्रविधिबारे प्रस्तुत गरियो ।

यस्तै पहिलोपटक आयोजना गरिएको स्याटएक्स्पो मिडिल इस्ट स्याटेलाइट प्रविधिमा भइरहेको नवीनतम एआई इन्फ्युज्ड प्रविधिबाट लिएर युटलस्याटको स्याटेलाइट कनेक्टिभिटीमा आधारित ईस्पोर्ट रेसिङ कार्यक्रमबारेमा अनुभव आदानप्रदान गरियो ।

‘यस खण्डमा मैले अन्तरिक्ष प्रविधि र डिजिटल सञ्चारको भविष्य कसरी एकापसमा जोडिन थालेका छन् भन्ने गहिरो बुझें,’ फुर्वाले भने ।

नेपालजस्ता विकासोन्मुख देशका मिडिया व्यवसायी, फिल्म निर्माता र डिजिटल कन्टेन्ट क्रिएटरका लागि यस्ता मञ्च नयाँ दृष्टिकोण, सञ्जाल र प्रविधिमा पहुँचको सुनौलो अवसर भएको उनले बताए ।

प्रकाशित मिति: २०२५-०५-२० , समय : १२:१०:१६ , २ दिन अगाडि