
काठमाडौं । साहित्यकार, गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतामा उपचारको क्रममा उनको निधन भएको नेपाल संगीतकार संघले जनाएको छ ।
७८ वर्षीय रसिक पाँच वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । उनको क्यान्सर अस्पतालमा बिहान ११ बजेतिर निधन भएको हो ।

रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिने भएको छ ।
करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट संगीत क्षेत्रमा उदाएका रसिक नेपाली सङ्गीत क्षेत्रको बहुआयामिक व्यक्तित्व हुन् । उनी गीत लेखन, संगीत र गायन तीनै क्षेत्रमा सक्रिय थिए । उनका सिर्जनामा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भीर अर्थ भेटिन्छन् ।
रसिकका कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी संग्रह प्रकाशित छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नम्बर २ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको थियो ।
रसिकले बीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सामान्य कर्मचारीको जागिरे हुँदै व्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ वर्षसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।
रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा रहेर उनले काम गरे ।
प्रकाशित मिति: २०२५-०६-०१ , समय : १४:२६:४३ , ५ दिन अगाडि