
इटहरी । एउटै कार्यालय, एउटै पद, सेवामा खट्ने समय पनि एउटै । तर तलब, इन्धन तथा सवारी साधन सुविधा र अतिरिक्त भत्तामा असमानता अर्थाथ चरम विभेद । यो हो, इटहरी उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुमाथि नगरको डाडुपन्यू चलाईरहेकाहरुमाथि गरिँदै आएको मनपरीतन्त्रको यर्थाथ कथा व्यथा ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, कार्यकारी अधिकृतका सचिवालयमा काम गर्ने हुन् या उनीहरुका आसेपासे कर्मचारी हुन् उनिहरुलाई नियम विपरित सुविधामाथि सुविधा दिईदै आएको पाईएको छ । यतिसम्म कि नगरप्रमुख हेमकर्ण पौडेल विजयी भई आएका बर्षबाट मालदार शाखाहरुमा सेटिङमा राखिएका शाखा प्रमुखहरुको नाम तीन बर्षको अवधिमा एक पटकपनि नगरभित्रको आन्तरिक सरुवा लिष्टमा राखिएकै छैन् ।

प्रदेश लोक सेवा आयोगले बढुवा गरि सुनसरीका अन्य पालिकाहरुमा सरुवा गरिएका दुई छैटौ तहका अधिकृतलाई नियम विपरित केही महिनामै पुनः इटहरी उपमहानगर फिर्ता ल्याई तीन बर्ष अघि दिइएको शाखाकै प्रमुखको जिम्मेवारीमै राख्नुले इटहरी उपमहानगरपालिको वर्तमान नेतृत्व कस्तो सेटिङ चलिरहेको छ भन्ने स्पष्ट भएको छ ।
करारका कर्मचारीको भन्दा तोक आदेशका कर्मचारीको सुविधा धेरै
प्रतिष्पर्धा गराई इटहरी उपमहानगरपालिकामा करारमा राखिएका कर्मचारीहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरि विज्ञापन विना तोकआदेशका भरमा राखिएका कर्मचारीहरुलाई मनमौजी तलब र सुविधा प्रदान गर्दै आएको पाइएको छ । इटहरी उपमहानगरपालिकाको कम्प्युटर अपरेटर पदका कर्मचारीहरुलाई तीन खालको सेवा सुविधा दिईरहेको पाइएको छ । करारकालाई २१ हजार मासिक तलब खुवाईरहेको इटहरी उपमहानगरले मासिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई २८ हजार ६ सय दिईदै आएको छ । अर्कोतर्फ दैनिक ज्यालादारीमा सोही पदमा राखिएका कर्मचारीहरुलाई ३२ हजार तलब दिईदै आएको पाईएको छ । नगर प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत लगायतका आसेपासे कर्मचारीहरुले ३२ हजार तलब स्केल मात्र नभई इन्धन, सेतो प्लेटको सवारी साधन प्रयोग देखि लिएर , तलब सुविधा सहितको विदा, अतिरिक्त भत्ता र नगरसभा भत्ता समेत पाउँदै आएका छन् ।
इटहरी उपमहानगरपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीमाथि पनि तलब र सेवा सुविधामा ठूलो विभेद गरेको पाइएको छ । करारमा कार्यरत सो पदका कर्मचारीहरुले मासिक २१ हजार ४ सय ८० रुपियाँ तलब पाईरहेका छन् । सोही पदमा मासिक ज्यालादारीमा कामगर्ने कर्मचारीको तलब १७ हजार मात्र छ । तर, दैनिक ज्यालादारीमा कामगर्ने सोही पदका कर्मचारीको तलब २४ हजार छ ।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा काम गर्ने ज्यालादारी कर्मचारीलाई कानुन विपरित सहायक स्तरका कर्मचारी सरहको अतिरिक्त भत्ता समेत दिईदै आएको कर्मचारी स्रोतले जानकारी दिएको छ ।
तलबबाट काटिएको पैसा कर्मचारीले अझै फिर्ता पाएनन
इटहरी उपमहानरपालिकामा करारमा कार्यरत कर्मचारीहरुको मासिक तलबबाट काटिदै आएको रकम बर्षौबाट कुनै पनि कर्मचारीले हालसम्म फिर्ता नै पाएका छैनन् । आफ्नै तलबाट काटिएको पैसा नियम अनुसार पटक पटक फिर्ता माग्दा इटहरी उपमहानगरले हालसम्म फिर्ता नदिएको पिडित कर्मचारीहरुले जानकारी दिएका छन् । फिर्ताका लागि प्रत्येक बर्ष अनुरोध गर्दा लेखाशाखाले फिर्ताका लागि पैसा नै नभएको जवाफ दिँदै आएको उनीहरुले जानकारी दिएका छन् । मासिक तलबको ६ प्रतिशतका दरले काटिँदै आएको पैसा कहाँ जम्मा गरिएको छ, कहाँ कुन अवस्था छ भन्ने जवाफ नै लेखाशाखाले नदिने गरेको ती पिडित कर्मचारीहरुले दावी गरेका छन् ।
उनीहरुका अनुसार सेवा अवधि सकेर अवकास पाएका कर्मचारी र मृत्यु भएका कर्मचारीहरुले पनि आफ्नै तलबाट काटिएको पैसा हालसम्म इटहरी उपमहानगरपालिकाबाट पाएका छैनन् ।
कर्मचारीले १५ प्रतिशतले बढेको तलब ३ बर्षदेखि पाएनन
२०७९ सालमा नगरसभाबाटै इटहरी नगरवासीको सेवामा कार्यरत कर्मचारीहरुले खाईपाई आएको मासिक तलबमा १५ प्रतिशतका दरले बृद्धि गर्ने निर्णय गरिएको थियो । तर, हालसम्म कसैले पनि १५ प्रतिशतले बृद्धि भएको तलब स्केल पाएकै छैनन् । त्यसरी नपाउने कुल कर्मचारीको संख्यामा ९० प्रतिशत करार सेवामा कार्यरत कर्मचारी रहेको बुझिएको छ । बृद्धि गरिएको तलब स्केलको माग राख्दा वेवास्था गरिँदै आएको पिडित कर्मचारीहरुले जानकारी दिएका छन् । पहुँच र पावर नभएका तर अधिकारको कुरा उठाउँने कर्मचारीहरुलाई दुई तीन महिनाको फरकमा सरुवा गरेर तनाव दिने काम इटहरी उपमहानगर प्रशासन शाखाले गर्ने गरेको पाइएको छ । तीन बर्षदेखि एउटै शाखामा कार्यरत प्रशासन शाखाका जिम्मेवार कर्मचारीहरुले नगरप्रमुखको निर्देशनमा कर्मचारीमाथि गरिएको विभेद र अन्ययाका विरुद्ध आवज उठाउने कर्मचारीहरुलाई दुःख दिने काम गरिरहेको पिडित कर्मचारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार तोक आदेशमा ज्यालादारीमा नियुक्ती गरिएका इटहरी अस्पतालमा कार्यरत कर्मचारीहरुलाई नियम विपरित स्थायी दरबन्दी भएका कर्मचारी हुँदा हुँदै नगरप्रमुखको आदेशमा नरसिंहतर्फको इन्डोर इन्र्चाज बनाइएको छ ।
इटहरी उपमहानगर प्रालिमा परिणत हुँदै,आफन्तहरुको भर्ती केन्द्र
इटहरी उपमहानगरपालिकाले कुनै पनि पदमा कर्मचारी भर्ना गर्दा समान्य भन्दा सामान्य नियम समेत पालन गरेको पाइएको छैन् । यो बिषय हरेक बर्ष महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकालाई बुझाउने लेखाप्रतिवेदनमै स्पष्टसँग उल्लेख गर्दै आएको छ । विधिको शासनको दुहाई दिन नथाक्ने इटहरी उपमहानगरका जनप्रतिनिधिहरु महालेखाले भनेको कुरालाई बुझेर कार्यन्वयन गराउनुको साटो प्रत्येक बर्ष नियम विपरित कर्मचारी भर्ना गरी इटहरी उपमहानगरपालिकालाई व्यक्तिगत प्रालि जस्तो बनाउने बाटो तर्फ लागेको पाइएको छ । इटहरी उपमहानगरपालिका भित्र संचालित डिर्पामेन्ट स्टोर होस् या नगरकै निगरानीमा संचालित सहकारी संस्था, या विद्यालय होस् कुनै एक पदमा कर्मचारीराख्नु पर्यो भने विज्ञापन गरि खुल्ला प्रतिष्पर्धा गर्ने गरेका छन् । तर, इटहरी उपमहानगरपालिकाले प्रदेश लोकसेवा आयोगको निर्देशनलाई अवैज्ञा गर्दै हरेक बर्ष तोक आदेशको भरमा कर्मचारीहरु भर्ना गरिरहेको छ । यो कार्य द्धारिकलाल चौधरी नगरप्रमुख हुँदाबाटै हुँदै आएको छ । निर्वाचन अघि तोकआदेशमा नभई क्षमताका आधारमा प्रतिष्पर्धा गराई विधि र प्रकृया पुर्याएर मात्र आवश्यक कर्मचारी भर्ना गर्ने, प्रदेश लोकसेवासँग समन्वय गरेर दरबन्दी भित्रका कर्मचारीहरु मात्र राख्ने प्रतिवद्धता जनाएका हालका नगरप्रमुख हेमकर्ण पौडेलले सत्तामा पुगेपछि त्यसको ठिक विपरित गरेका छन् ।
कांग्रेस र एमालेको भागबण्डामा नगर प्रमुख पौडेलले कार्यभार समाले यता १ सय ५० जनाको हारहारीमा तोक आदेशका भरका कर्मचारीहरु भर्ती गरिएको छ । त्यसरी भर्ती भएका कर्मचारीहरुमा धेरै जसो नगर प्रमुख पौडेल उपप्रमुख संगीताकुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, केही वडाध्यक्ष, कार्यपालिका सदस्यहरुका घर परिवारभित्रका आफन्तहरुलाई कर्मचारीका रुपमा भर्ना गरिएको छ । १० असारमा इटहरी उपमहानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०८२÷०८३ को नीति, कार्यक्रम र बजेटमै तोक आदेशका भरमा नियुक्ती गरिएका दैनिक, ज्यालादारी कर्मचारीहरुलाई करार गरी स्थायी कर्मचारी सरहको सेवा सुविधा दिने उल्लेख गरिएको थियो ।
जुनियर कर्मचारीलाई टिकाउन सिनियरलाई कारबाही
इटहरी उपमहानगरपालिका वरिष्ठ उपसचिवद्वय सूर्यप्रसाद सुवेदी र दीपक पौडेललाई सरुवा गराएर जुनियर उपसचिव मीनबहादुर भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा टिकाउनको लागि कार्यपालिका बैठकले नै निर्णय गरेको घटना सार्वजनिक भएको छ ।
पौडेल र सुवेदीलाई सरुवा गराउन कार्यपालिकाबाट निर्णय गराएर कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस समेत गरिसकिएको छ । जसकारण इटहरी उपमहानगरपालिका भित्र स्थायी दरबन्दीमा कार्यरत कर्मचारीहरुमा चरम असन्तुष्टि बढ्नुका साथै विवाद सतहमै आएको छ । १९ असारमा बसेको कार्यपालिका बैठकको पहिलो प्रस्ताव र निर्णय नै सुवेदी र पौडेललाई सरुवा गर्ने थियो ।
यसअघि ९ असारको कार्यपालिका बैठकले तह वृद्धि समितिमा सदस्य नियुक्ति गर्ने निर्णय गरेको थियो । तह वृद्धि समितिको अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत हुने र वरिष्ठ कर्मचारी सदस्यमा राख्नुपर्ने प्रावधान छ । जस अनुसार सुवेदीलाई सदस्य मनोनीत गरिए पनि उपसचिव पौडेललाई समितिमा समेटिएन । आफूभन्दा जुनियर कर्मचारीको अध्यक्षतामा सदस्य नबस्ने भन्दै सुवेदीले मेयर हेमकर्ण पौडेल समक्ष लिखित जानकारी नै गराएका थिए ।
सोही आधारमा तह वृद्धि सिफारिस समिति, मूल्याङ्कन समिति तथा कार्यसम्पादन सुपरिवेक्षण र पुनरावलोकन समितिमा तोकिएको जिम्मेवारीप्रति उदासीन देखिएको आरोप लगाउँदै सरुवा गराउने निर्णय गरियो । प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएका बेला निमित्त जिम्मेवारी वहन गर्न अस्वीकार गरेको, कार्य सम्पादनमा बाधा पु¥याएको र वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा असर पारेको कार्यपालिकाको आरोप छ । सोही आरोपमा कार्यपालिका बैंठकबाटै यस्तो निर्णय गरिएको बुझिएको छ ।
०७७ साउनदेखि इटहरी उपमहानगरपालिकामा सरुवा भएको शिक्षा उपसचिव सुवेदीले २०७८ वैशाखदेखि केही समय निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । शिक्षा महाशाखाको जिम्मेवारीमा रहेका उनीलाई भूमिका विहीन तालिम महाशाखामा सरुवा गरिएको छ । हाल शिक्षा महाशाखामा आठौँ तहका रमेश शाहले नेतृत्व गरिरहेका छन् । उनलाई नगरप्रमुख पौडेलको इच्छा अनुसार सो जिम्मेवारी दिइएको कर्मचारी स्रोतले जानकारी दिएको छ ।
सुवेदी २०६९ साउनमा र पौडेल २०७४ माघमा खुल्ला प्रतिस्पर्धाबाट उपसचिव भएका हुन् । गत २०८० चैतमा मात्र उपसचिव भएका भट्टराई २०८२ वैशाखमा इटहरी सरुवा भएका हुन् । इटहरी सरुवा हुनुअघि भट्टराई मालापोत र यातायात कार्यालयमा निकै लामो समय विताएका कर्मचारी हुन् । उनी ती कार्यालयमा काम गर्दा पटक पटक अख्तियारको छानविनमा परेका कर्मचारी हुन् ।
प्रकाशित मिति: २०२५-०७-१२ , समय : ११:४९:३४ , १६ घन्टा अगाडि