इटहरी: इटहरी २ को आयुर्वेदिक टोललाई आध्यात्मिक धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले माया घर नेपालकै समीपमा १०८ शिव लिङ्ग स्थापना गरिएको छ ।
कोसी प्रदेशको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा सो टोलमा असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत चतुर्मास पारायणको समापन अवसरमा स्थापित १०८ शिव लिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम भोलीदेखि कात्तिक २१ गतेसम्म आयोजना हुने छ ।
भोली कलश शोभा यात्रासहित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्गको सुरुवात हुने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् । उनका अनुसार १०८ शिव लिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन कोसी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्ने भएका छन् ।
कात्तिक १७ देखि १९ गतेसम्म स्थापित १०८ शिबलिङ्गको विशेष प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । सो अवसरमा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता रहने १०८ शिबलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार भारतका दिल्ली, सिलगुडी, सिक्किम, विहारलगायत क्षेत्र र नेपालको काठमाडौँ, पोखरा, नवलपरासी, धरान, वराहक्षेत्र लगायतका क्षेत्रबाट समेत प्रतिनिधि आउने भएका छन् ।

सो स्थानमा भक्तपुरमा बनेको कलात्मक नेपाली इँटाबाट निर्मित आसन र नेपालकै शिलाबाट बनेको शिव लिङ्ग स्थापना गरिएको हो । सो स्थानमा शिव लिङ्गसँगै हनुमानको मूर्तिसमेत स्थापना गरिएको छ । करिब ३६ लाख रुपैयाँको लागतमा जमिनसहित १०८ शिव लिङ्ग निर्माण गरिएको हो, जसमा स्थानीय बासिन्दा, सङ्घ–संस्था, स्थानीय र प्रदेश सरकारको पनि सहभागिता रहने अपेक्षा गरिएको निर्माण समितिकी उपसंयोजक कमला खड्काले जानकारी दिइन् । उनले भोलीबाट कात्तिक २१ गतेसम्म हुने धार्मिक कार्यक्रममा सहभागी हुनेका लागि कोसी प्रदेशवासी लगायत देश विदेशमा रहेका धार्मिक पर्यटकहरूलाई आह्वान समेत गरेकी छन् ।
कार्यक्रमका क्रममा धरानको पिण्डेश्वर बाबा धाम, दन्त काली मन्दिर, बुढासुब्बा मन्दिर, विष्णु पादुका, वराहक्षेत्र धामलगायतका धार्मिक स्थलहरूबाट समेत संस्थागत प्रतिनिधित्व हुने चिन्तन केन्द्रका कोसी प्रदेश उपाध्यक्ष हिरा आर्चायले जानकारी दिए । उनका अनुसार सोही अवसरमा करिब एक घण्टा लामो सामूहिक शंखघोष र जलाभिषेक आराधना समेत आयोजना गरिनेछ ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका तीन दर्जनभन्दा बढी शाखाबाट प्रतिनिधित्व हुने कार्यक्रमलाई धार्मिक पर्यटनको नयाँ अध्यायको रूपमा हेरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेशकी सचिव प्रतीक्षा प्राप्ति अधिकारीले जानकारी दिइन् । शिव लिङ्ग स्थापना स्थल नजिकै सडक मानव उद्धार केन्द्र माया घर नेपाल रहेको छ । आयोजकहरूले शिव लिङ्ग दर्शनका लागि आउने भक्तजनले त्यहाँका मानव सेवामा पनि सहकार्य गर्न सक्ने व्यवस्था गरिएको चिन्तन केन्द्र कोसीकी कोषाध्यक्ष अजिता सुवेदीले बताइन् ।

सोही कार्यक्रमको विशेष आकर्षणका रूपमा कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेश सरकारले सूचीकृत गरेका ८२ पर्यटन गन्तव्य स्थलहरूको व्यापक रूपमा प्रचार–प्रसार गरिनेछ । कार्यक्रममा सहभागी हुने देश विदेशका धर्मगुरु, धार्मिक व्यक्तित्व र सहभागीहरूलाई समय मिलाएर हरेक दिन कोसी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरूको भ्रमण समेत गराइने चिन्तन केन्द्र कोसीकी अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।
इटहरीको सु कल्प सामुदायिक भवन, विष्णु पाञ्चायन मन्दिर, धनकुटा–इटहरी सम्पर्क समाज, नेपाल शेर्पा सङ्घलगायतका संस्थाहरूको नजिक रहेको यो स्थललाई ‘नमुना धार्मिक–पर्यटकीय गन्तव्य’का रूपमा विकास गर्ने लक्ष्य लिइएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र इटहरी नगर अध्यक्ष सुशीला सिटौँला आर्चायले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२५-१०-३० , समय : ०६:१५:४० , ४ हप्ता अगाडि