
इटहरी । कोशी प्रदेशको प्रदेशसभामा रहेका राजनितिक दल काग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका प्रदेश तहका नेताहरुले प्रदेश नामाकंरणको विषय प्रदेशसभा सदस्हरुको अथक प्रयास र वृहत्तर छलफलबाट भएको स्पष्टिकरण दिएका छन ।
प्रदेश नामाकंरणको बिषयलाई लिएर बन्द हड्ताल तथा आन्दोलनका कार्यक्रमहरु भइरहेको सन्दर्भमा चार राजनितिक दलका प्रतिनिधिले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दैै सार्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामाकरणको निर्णयलाई सिरोधार्य गर्न प्रदेशबासीलाई आग्रह गरेका छन् ।

अघिल्लो प्रदेश सभाले पाँच बर्ष सम्म प्रदेशलाई नाम बिहिन बनाएको अवस्थामा नागरिक तहबाट राजनितिक दलप्रति आक्रोस, असन्तुष्टि र आलोचना गरेको भन्दै विज्ञप्तीमा गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले अथक प्रयास गरेर प्रदेशको नामाकंरण गरेको बताएका हुन ।
प्रदेशको नामाकरण गर्न सफल भएकोमा प्रदेशसभा सदस्यलाई धन्यवाद समेत व्यक्त गरिएको छ । प्रदेश नामाकंरणको विषयमा असन्तुष्टि अथवा फरक मत भए संवैधानिक प्रक्रृयामार्फत त्यसको समाधान गर्न र सामाजिक सद्भाव खलल हुनेगरी कुनै गतिविधि नगरी शान्तिपुर्ण ढंगबाट आफ्ना मुद्धालाई वार्ता र छलफलको माध्यमबाट समाधान गर्न सरकार लगायत सम्बन्धित निकायलाई अपिल गरिएको छ ।
विज्ञप्तीमा नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपाने, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, माओवादी केन्द्र कोशी प्रदेश सचिव गणेश उप्रेती र राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : २०:५८:०३ , २ वर्ष अगाडि