
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचे भन्दा फरक रहेको बताएका छन ।
सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए ।
उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । मन्त्री किरातीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको बताए ।

उनले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताए । मन्त्री किरातीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनको स्थान नहुँदा पछि परिरहेको बताए । उनले बेरोजगार भएर मात्रै विद्यार्थी विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताए । उनले विद्यार्थीलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उल्लेख गरे।
मन्त्री किरातीले भने, ‘‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन। १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ। अझै अर्को रहेछ। म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन। हामी युगको परीक्षा दिँदैछौँ। व्यक्तिको होइन। हामी फेल भयौँ भने युग फेल हुन्छ। व्यवस्था फेल हुन्छ। हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ। स्थानीय सोचलाई प्राथमिकता दिएनौँ। १२ कक्षा पढेपछि नेपाली विद्यार्थी विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ। हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा, शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ।’’
मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताए ।
प्रकाशित मिति: २०२३-०३-२७ , समय : १७:०७:५८ , २ वर्ष अगाडि