काभ्रेको कुशादेवीस्थित रातो पहरामा साहसिक खेल ‘रक क्लाइम्बिङ’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत वडा नम्बर २ कुशादेवीस्थित तोरिखोरिया नयाँ गाउँमा रातो पहरा रक क्लाइम्बिङ वाल शुभारम्भ भएको छ ।

ब्यवसायीक रुपमा सुरु गरिएको रकक्लाईमिङ्ग साहसिक खेलको शुभारम्भ पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले गरेका हुन ।

पनौतीको कुशादेवीमा एकै पटकमा आठ जना क्लाईमर चढ्न सकिने गरी रातो पहरामा साहसिक खेल रक क्लाइम्बिङ निर्माण गरिएको छ ।

राजधानीबाट नजिक रहेको पनौती नगरपालिकाकाको बसपार्कबाट ९ किमीको दुरीमा रकक्लाईमिङ्गको सुरुवातले नेपालको पर्यटकीय क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको नेपाल पर्वतारोहण प्रशिक्षक संघका प्रशिक्षक पेम्बा ओङ्गछु शेर्पाले बताए ।

साहसिक खेलका पारखीहरूले उक्त क्षेत्रमा पुगी रकक्लाईमिङ्ग मार्फत प्राकृतिक आनन्द प्राप्त गर्न सक्नेछन् ।

पनौती नगरपालिका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा पनौतीको कुशादेवीमा थपिएका साहसिक खेलका गन्तव्यले नगरबासीहरुलाई थप सहजता हुने नगर प्रमुख भण्डारीले बताए ।

उपप्रमुख गीता बञ्जाराले कुशादेवीले सुरु गरेको नयाँ गन्तव्यको संरक्षण, प्रवद्र्धन र प्रसार प्रचारमा नगरपालिकाले ध्यान दिने बताइन ।

पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले नगरपालिकाबाट विनियोजन भएको १० लाख रकमबाट रकक्लाईमिङ्ग पुग्ने स्थानसम्मको पदमार्गका साथै र रक क्लाइम्बिङका लागि पूर्वाधार तयार गरिएको बताए ।

वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले वडा कार्यालयले रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउन हिल साईक्लिङ्गका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी नयाँ गन्तव्य तय गरिएको बताए ।

तोरिखोरिया नजिकै वडा मार्फत चरा संरक्षण सुरु गरिएको छ । गोदावरी बनसँग जोडिएको महाभारत लेक फुलचोकीसम्म फैलिएको छ । वडा कार्यालयले एक सिजनमा १ सय ३८ प्रजातिका चरा आफ्नो क्षेत्र भित्र आउने गरेको तथ्याङ्क सर्वेक्षण गरेको छ भने गोदावरी क्षेत्रमा २ सय ८० प्रजातिका चरा संरक्षण गरिएको तथ्याङ्क छ ।

उक्त वनमा साईबेरियाबाट २२ हजार किलोमिटर टाढाबाट उडेर आउने साईबेट ब्लाककाईड नामक चरा समेत पाइने गरेको छ । लोपोन्मुख प्रजातिका काँढेभ्याकुर, मुनाल लगायतका चराचुरुङ्गी सोही क्षेत्रमा पाइन्छ ।

पनौती नगरपालिका वडा नम्बर २ ले पूर्वाधार निर्माणसँगै ब्यवसायीक र साहसिक खेललाई समेत प्राथमिकता दिएको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : ०९:३७:०४ , २ वर्ष अगाडि