नागरिकमा सचेतना, सुदृढ र शान्तिपूर्ण समाजका निम्ति अहिलेको आवश्यकता !

अनुसा थापा

पहिलेपहिले,‘नचिनेको मान्छेसँग सतर्क हुनु, उनीहरुसँग नबोल्नु, उनीहरुले दिएको नखानु’, भनि अर्ति दिने गरिन्थ्यो । तर, अहिले चिनेकै मान्छेबाट सतर्क हुनुपर्ने अवस्था आएको छ । घरपरिवार, इष्टमित्रबाटै खतरा हुन थालेको छ । कसैले कसैमाथि विश्वास गर्नै नसक्ने स्थिति बनेको छ ।
आफन्तले आफन्तलाई फसाएका छन्, डुबाएका छन् । समाजमा सेवाभावको खडेरी लाग्दै गरेको छ । जोपनि पैसाको पछाडि दौडिएका छन् । कमिशनका लागि आफ्नै आफन्तलाई फसाउने क्रम चलिरहेको छ । अर्कोको खुट्टा तानेर आफू कसरी अगाडि बढ्ने ? भन्नेमै सबै ध्याउन्न छन् ।
कमिशन खानका निम्ति छोराछोरीले बाबुआमा, दाजुले बहिनीलाई डुबाइरहेको अवस्था छ । सबैलाई जसरी हुन्छ धनी बन्नु परेको छ । आफन्तलाई फसाएर हुन्छ कि ठगेर, जसलाई पनि धनसम्पत्ति आयआर्जन गर्छन् । बुढापाकाले भन्छन् नि,‘घरभित्रै शत्रु हुन्छन् ।’ जुन पछिल्लो समय समाजमा लागू हुँदै गएका छन् ।
जनता शिक्षित छन् तर उनीहरुमा मानवताको चरम अभाव छ । जनतासँग किताबी ज्ञान भयो, व्यवहारिक र नैतिक ज्ञान भएन । अरुलाई ठग्नु, लुट्नु, मार्नु हुँदैन भनेर जनताले सिकेनन् । यता, राज्यले पनि जनतालाई सिकाउन सकेन । राज्य जनताको अभिभावक हो । जनतालाई सही बाटो देखाउनु राज्यको कर्तव्य हो ।
विडम्बना, राज्य आफ्नो कर्तव्य निर्वाहमा चुकेको छ । जसका कारण देशभरका कारागारमा २८ हजार बढी कैदीबन्दी छन् । ठगिसकेपछि, लुटिसकेपछि वा मारिसकेपछि जेलमा लगेर कोच्दैमा समस्याको समाधान हुँदैन । भनिन्छ नि,‘प्रिभेन्सन इज बेटर द्यान क्योर ।’ अपराध गरेर थुन्नुभन्दा अपराध नै गर्न नदिऊँ ।
जनतालाई सचेत बनाउन सक्नु नै राज्यको ठूलो जीत हो । जहाँ नागरिक सचेत हुन्छन्, त्यहाँ शान्ति र सुशासन आफैं कायम हुन्छ । तर, हामीकहाँ राज्य ऐनकानुन बनाउँछ, दराजमा लगेर थन्काउँछ । जसका कारण अपराध निरन्तर बढ्दै गएको छ । कानुन थाहा नहुँदा जनता अपराधमा मुछिन्छन्, राज्यले लगेर थुन्छ ।
जेलमै उनीहरुको जिन्दगी सकिन्छ । राज्यले बेलैमा सचेत गराइदिने हो भने त्यस्तो किसिमको दुर्घटना नै हुँदैन । न कोही ठगिन्छन् न कसैको ज्यान जान्छ । मान्छेहरु जति सम्पत्ति कमाउँदै गए, त्यति नै लोभी हुँदै गए । २०१८ सालमा सरकारले जिल्ला तोक्यो । २०२१ सालसम्म मान्छेसँग जग्गा थियो, तर लालपूर्जा थिएन ।
बाटो, गाडी, मोबाइल, सुन, आलिशान महल थिएन । २०२१ सालमा सरकारले भूमि ऐन ल्याएर कसको कति जग्गा भनेर छुट्याइदियो । त्यसपछि गाउँगाउँमा बाटो पुग्यो । नेपालीहरु वैदेशिक रोजगारीमा गएर कमाउन थाले । अनि कोभन्दा को कम ? सबै देखासिकीमा लागे ।
जसरी हुन्छ, त्यसको भन्दा बढी कमाउने । जसका कारण धेरै गलत बाटोमा लागे । आफ्नो देशमा कोही केही नगर्ने । ठगेर खान लाज नहुने तर काम गर्न लाज हुने । अर्काको देशमा जाने अनि बाकसमा प्याक भएर आउने । यो चलनचल्ती पछिल्लो समय समाजमा देखिँदै गएको छ ।
मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भयो । राणाकालपछि पञ्चायती अनि बहुदलीय हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । तर, जुनसुकै व्यवस्था आएपनि जनतालाई सचेत बनाउन सकेन । जनतालाई यही आधारभूत अधिकारको प्रत्याभूति दिलाउन सकेन । कारागार भनेको सुधार गृह हो ।
जेलभित्र पनि राज्यको ऐनकानुन लागू हुनुपर्छ । त्यहाँभित्र कैदीबन्दीलाई पढाउनुपर्छ । उनीहरुलाई सीप सिकाउनुपर्छ । कानुन के हो ? कानुनमा के के छ ? कैदीबन्दीलाई सिकाउनुपर्ने हो । तर, जेलभित्रै भएकालाई त राज्यले केही सिकाउँदैन भने बाहिरका लागि के सिकाउँछ ?
राम्रो मान्छे बनाउनुको साटो सरकारले झनै बिगार्छ । यता, अभिभावकले पनि आफन्त सन्तानलाई केही सिकाउँदैनन् । अनि जब सन्तान बिग्रिन्छ, पुर्पुरोमा हात लगाउनुबाहेक कुनै विकल्प हुँदैन । अरु देशमा सडकमा प्रहरी खटिँदैनन् । तैपनि त्यहाँ अपराध छैन । हामीकहाँ सडकमा जताततै प्रहरी देखिन्छन् ।
यद्यपि, हामीकहाँ नै सबैभन्दा बढी अपराध हुन्छ । किन कि, अरु देशमा नागरिक सचेत छन्, कानुन कार्यान्वयन बलियो छ । हामीकहाँ न नागरिक सचेत छ न कानुनको कार्यान्वयन नै । यहाँ नागरिक मालामाल छन्, राज्य कंगाल छ । सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेर राख्ने प्रवृत्ति यहाँ छ ।
अरु मुलुकमा १६ वर्ष पुगेपछि आफैंले कमाएर खानुपर्छ । हामीकहाँ त बाबुआमाले अरुलाई लुटेर, ठगेर सम्पत्ति थुपारेर राखेको हुन्छन्, त्यसमै मोजमस्ती गर्छन् । २० वर्ष पुगिसक्दा पनि एक रुपैयाँ कमाएका हुँदैनन् । सरकारले ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिन्छ । त्योपनि छोराछोरीले ल्याएर खाइदिन्छन्, बाउआमा हेरेको हेर्यैं ।
घरभित्रै यस्तो भएपछि समाज कसरी सुध्रिन्छ ? एउटा नागरिक सही भयो भने देश धेरै अगाडि बढ्छ । उसले समाजमा धेरै काम गर्छ । तर, भर्खरका कलकलाउँदा उमेरका युवाहरु गलत बाटो हिँडेका छन् । अनि देश कसरी सुदृढ हुन्छ । चोरी, हत्या, बलात्कारमा कलिला नागरिकहरु फसिरहेका छन् ।
ऋाफ्नो र देशको लागि केही गर्ने उमेरमा जेलमा जानुपर्दा देश कसले बनाउने ? भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको फाइदा उठाएर रवि लामिछाने नख्खु कारागारबाट निस्किए । उनी सञ्चारकर्मीदेखि गृहमन्त्रीसम्मको व्यक्ति थिए । तर, उनले आफ्नो पृष्ठभूमिको ख्याल गरेनन् ।
उनी निस्किएपछि सबै जेलका कैदीबन्दी बाहिर निस्किए । केहीले निस्किनेबित्तिकै अपराध गरे । तर, गुण्डा उपनामले चिनिएका दिपक मनांगे जेलबाट निस्किएनन् । त्यहीँभित्र बसिरहे । यसले त रविभन्दा दिपक ठीक रहेछन् भन्ने पुष्टि गर्यो । त्यसले पढेर र पदमा पुगेर मात्र हुँदैन, सही र गलतको ज्ञान हुनुपर्छ ।
नागरिक सचेत भए भने जेल चाहिँदैन । जेल नचाहिएपछि त्यहाँ कैदीबन्दीलाई भात खुवाउनुपरेन, छुट्टै पैसा दिनुपरेन । नागरिक आफ्नो गरी खान्छन् । उनीहरुलाई वर्षेनि छुट्याइएको अर्बौं रुपैयाले देश विकास हुन्छ । प्रहरी पनि राख्न परेन । देशले त आफैं फड्को मार्छ ।
तर, त्यसका लागि राज्यले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । हरेक नागरिकलाई आधारभूत अधिकारको प्रत्याभूति दिलाउनुपर्छ । पछिल्लो समय नागरिकले सबैभन्दा ठूलो सम्पत्ति नै पढाइ हो भन्ने बुझेका छन् । तर, त्यति मात्र पर्याप्त छैनन् । पढेलेखैकै हरु गलत बाटोमा लागेका छन्, अपराधमा मुछिएका छन् ।
उनीहरु गलत बाटोमा लाग्दा अभिभावक र राज्यलाई ठूलो नोक्सानी भइरहेको छ । राज्य नागरिकलाई सचेत बनाउनतर्फ लाग्नुपर्यो । अहिले नै गम्भीर नहुने हो भने कैदीको संख्या दोब्बर हुन्छ । समाजमा अपराध दोब्बरले बढ्छ । शान्तिसुरक्षा हुँदैन । देश झनझन् भडखाँलोमा फस्दै जान्छ ।
त्यसैले, राज्य पहिले आफू सचेत होस् अनि नागरिकलाई बनाओस् । सुदृढ र शान्तिपूर्ण समाज अहिलेको आवश्यकता हो । यसतर्फ राज्यको ध्यान जाओस् । अभिभावकहरु पनि गम्भीर बनुन् । अनि मात्र देश बन्ला ।

 

प्रकाशित मिति: २०२५-१०-०४ , समय : ०८:४०:१२ , ७ दिन अगाडि